जनकपुरधाम, १५ फागुन । प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् मधेस प्रदेश कार्यालयको निर्देशकको रुपमा अरबिन्द कुमार चौधरी हाजिर भएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद् बागमती प्रदेश कार्यालय हेटौंडाबाट सरुवा भएर आएका चौधरी सोमबार जनकपुरधामस्थित परिषद्को कार्यालयमा हाजिर भएका हुन् ।

चौधरीलाई बागमती प्रदेश कार्यालय हेटौंडाबाट गत माघ २३ गते परिषद्को मधेस प्रदेश कार्यालयमा सरुवा गरिएपनि सदस्य सचिव स्तरीय निर्णय अनुसार माघ २५ गते परिषद्को टिभीइटी नीति निर्माण सम्बन्धी काममा परिषद्का सदस्य सचिवलाई सहयोग पुर्याउन २६ गतेदेखि लागुहुने गरी १ महिनाको लागि परिषद्को केन्द्रीय कार्यालय तानिएको थियो ।

एक महिना नबित्दै उनलाई पुनः फागुन १४ गते परिषद्को मधेस प्रदेश कार्यालयमा काजफिर्ता पठाइएको छ । चौधरीको पदाधिकार साविक बमोजिम राखी अर्को निर्णय नभएसम्मका लागि प्रदेश कार्यालयको निर्देशकको कामकाज गर्ने गरी काज फिर्ता गरिएको छ ।

यससँगै चौधरी सोमबार दिउँसो कार्यालयमा हाजिर भएका हुन् । कार्यालयका कर्मचारीहरुको उपस्थितिमा उनले कार्यालय प्रमुखको कार्यभार सम्हालेका छन् ।

कार्यालयमा हाजिर भएपछि चौधरीले कार्यालयको सेवा र सुविधालाई पारदर्शी किसिमले सहजताका साथ प्रदान गरिने बताए ।नियमानुसार महसुस हुने गरी सेवा दिन निर्देशक चौधरीले कर्मचारीहरुलाई पनि निर्देशन दिएका छन् ।