जनकपुरधाम, १४ फागुन । धनुषा प्रहरीको गल्तीका कारण बलात्कार मुद्दामा पक्राउ परेका एक अभियुक्त प्रहरीको गाडीबाट हाम फालेर फरार भएका छन् ।

बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर-१३ किरतपुर बस्ने २८ वर्षीय अभियुक्त राजाबाबु मुखिया आइतबार साँझ करिब ७ बजे प्रहरीको गाडीबाट हाम फालेर फरार भएका हुन् ।

मुखियालाई आइतबार धनुषा जिल्ला अदालतबाट ७ दिन म्याद थप गराई ईलाका प्रहरी कार्यालय सबैला लगिरहँदा प्रहरीकै गाडीबाट यदुकुहास्थित कमला नहरमा हाम फालेर फरार भएका छन् ।

फरार मुखियाको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

केही दिन अघि मात्र ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत कक्ष फोडेर ६ जना थुनुवा फरार भएका थिए । उनीहरू मध्ये दुईजना अझै पक्राउ पर्न सकेका छैनन् ।