जनकपुरधाम, १४ फागुन । जनकपुरधामको जनकचोकस्थित जनक मन्दिर प्राङ्गणमा पत्रपत्रिका बेच्दै आएका स्थानीय दीपनारायण साहलाई उपचारका लागि आर्थिक सहयोग गरिएको छ ।

तेलि स्वजातिय जागरण अभियानीले उनलाई उपचारका लागि आर्थिक सहयोग गरेको हो ।

बिहान बिहानै साइकलमा पत्रपत्रिका बेच्दै आएका साह विगत एक महिनादेखि बिरामी छन् । उनलाई क्षयरोग लाग्नुका साथै किड्नी तथा लिभरमासमेत समस्या रहेको छ ।

उनको आर्थिक अवस्था अत्यन्त दयनीय रहेकोले उपचारका लागि उनीप्रति सहानुभूति राख्दै आइतबार उनको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिंदै तेलि स्वजातीय अभियानीहरुले २१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

तेलि स्वजातीय अभियानीहरु जानकी राम साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–९ का वडाध्यक्ष परमेश्वर साह, वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र कुमार साह र युवा नेता किशन साहको उपस्थितीमा उनलाई सहयोग गरिएको हो ।

वडाध्यक्ष साहले दीपनारायणको स्वास्थ्य र आर्थिक अवस्था दुबै कमजोर रहेकोले जनकपुरधामवासीसँग उनलाई उपचारका लागि सक्दो सहयोग गरिदिन अनुरोधसमेत गरेका छन् ।