काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका कारण राजनीतिक अस्थिरता बढेको बताएका छन् । वचन फेर्ने प्रचण्डको पुरानो बानी नसुध्रिएको उनको आरोप छ ।

आइतबार राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रचण्डजी एकथरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै । उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो– दुई महिना गाह्रो भयो है । नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिन त सक्दिन, कतिञ्जेल रोक्ने ?’

माओवादी अध्यक्ष प्रचण्ड धोका दिने मान्छे भनेर आफूले पहिलादेखि नै चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डको व्यवहार नसुध्रिएको आरोप लगाए ।

‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नुपर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ । एउटा कचौरामा दूधभात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ । प्रचण्डमा यही स्वभाव हावी छ । जता पाइन्छ उहाँ ढल्किहाल्नुहुन्छ,’ ओलीले भने ।

१० पुसमा भएको सहमति तोडेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन खोजेको बताउँदै ओलीले २५ फागुनसम्म सहमतिमा आउन सक्ने भन्दै प्रतीक्षा गरिरहेको बताए ।