काठमाडौं, १४ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सत्ताकेन्द्रित फोहोरी खेलका कारण मुलुक अस्थिरतातर्फ गएको बताएका छन् ।

काठमाडौंमा पार्टीसम्बद्ध भातृ संगठनहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

‘चुनावअघि एउटा गठबन्धन, चुनावपछि अर्को गठबन्धन, दुई महिनाको बीचमै फेरि अर्को गठबन्धन, यस्तो राजनीतिले मुलुकलाई कता लैजान्छ ?’ भनी प्रश्न गर्दै उनले जनतामा वितृष्णा मात्र नभई दल र नेताहरु प्रति घृणा उत्पन्न भएको समेत थापाले बताए ।

विकल्पका रुपमा देखिएका राजनीतिक दलहरु शक्ति र पैसा केन्द्रित हुँदा जनता विरक्तिएको थापाको टिप्पणी थियो ।

राप्रपा नेपालप्रति सकारात्मक धारणाको विकास भइरहेकोमा सन्तोष व्यक्त गर्दै थापाले जनता र संगठन केन्द्रित हुन भातृ संगठनका पदाधिकारीई आग्रह गरे ।

कार्यक्रममा पार्टीका महामन्त्रीद्वय राजाराम बर्तौला र केशवराज श्रेष्ठले जनवर्गीय संगठनको कृयाशीलता र भावी कार्यक्रमबारे बोलेका थिए । भातृ संगठनका अध्यक्षहरुले आफ्नो संगठनको कार्ययोजना प्रस्तुत गरेका थिए ।