अमेरिकामा चिकित्सक र बिरामी बोकेको विमान दुर्घटना, पाँचजनाको मृत्यु

एजेन्सी, १४ फागुन । अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ ।
गत शुक्रबार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरइएमएसए) ले आज जनाएको छ ।
दुर्घटनाग्रस्त विमानमा चालकबाहेक एकजना परिचारिका, एकजना चिकित्सा सहायक, एकजना बिरामी र निजको परिवारका एकजना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ ।
यद्यपि दुर्घटनाको कारण स्पष्ट भएको छैन । निरन्तरको हिमपात र आँधीका कारण अमेरिकाका धेरै राज्यको जनजीवन कष्टकर बनेको छ ।
क्यालिफोर्निया पनि हिमपात र आँधीबाट प्रभावित भएको छ । शनिबार साँझसम्म क्यालिफोर्निया राज्यका करिब एक लाख सर्वसाधारण बिजुलीविहीन थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


