जनकपुरधाम, १३ फागुन । सुनचाँदी कालिगढ संघ जनकपुरधामका नवनिर्वाचित पदाधिकारीले शपथ लिएका छन् । शनिवार एक समारोहकाबीच संघका नवनिर्वाचित पदाधिकारीहरुले शपथ लिएका हुन् ।

नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृत विनोद ठाकुरले शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहणपछि नवनिर्वाचित अध्यक्ष नागेन्द्र ठाकुरले कालिगढ र सुनचाँदी व्यवसायीहरु बिचको सम्बन्धलाई आफूले प्रगाढ बनाउने प्रतिवद्धता व्यक्त गरे । उनले व्यवसायीहरुसँग सम्बन्ध प्रगाढ बनाई कालिगढहरुको हकहितका लागि आवाज उठाउने बताए ।

गत महिना मात्रै नागेन्द्र सुनचाँदी कालिगढ संघ जनकपुरधामको अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै उपाध्यक्षमा मनोजकुमार ठाकुर, महासचिवमा वीरेन्द्रकुमार साह र कोषाध्यक्षमा परमेश्वर साह निर्वाचित भएका थिए ।

सचिवमा अभिशेक ठाकुर निर्विरोध भएका थिए भने सदस्यहरुमा अजयकुमार ठाकुर, महेन्द्र ठाकुर, सुरतराम साह, गोविन्दकुमार ठाकुर, विकास कुमार श्रीवास्तव र सुधिरकुमार साह निर्विरोध चयन भएका थिए ।

राम मन्दिरका महन्थ राम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शपथ ग्रहण समारोहमा जिल्ला समन्वय समिति धनुषाका उपप्रमुख संगिता देवी ठाकुर, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ का वडाध्यक्ष सुरेश झा, सुनचाँदी व्यवसायी संघ जनकपुरधामका अध्यक्ष पवनकुमार ठाकुर, संरचना नेपालका अध्यक्ष अमरचन्द्र अनिल, जनकपुरधाम उद्योग वाणिज्य संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष जितेन्द्र कुमार साहलगायतकाहरुको उपस्थिति रहेको थियो ।