जनकपुरधाम, १३ फागुन । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति निर्वाचनका कारण सत्तासमीकरणमा आएको परिवर्तनले सरकारमा पनि असर पर्ने बताएका छन्।

शनिबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष यादवले राष्ट्रपति निर्वाचनपश्चात सरकार परिमार्जन हुने र जसपा सरकारमा जाने बताएका हुन् ।

अहिले परिवर्तन भएको समीकरणले सरकार पनि फेरबदल हुन सक्ने उनले बताए । उनले कांग्रेसको राष्ट्रपति र जसपाको उपराष्ट्रपति सुनिश्चित भएको बताए ।

उनले भने, ‘अब जसपा पनि सरकारमा सहभागी हुन तयार छ । नयाँ समीकरणअनुसार सरकार अगाडि बढ्ने भएको छ । राष्ट्रपति कांग्रेसलाई र उपराष्ट्रपति जसपाले दिनेगरी सहमति भएको छ ।’

अध्यक्ष यादवले अब हुने सत्तासमीकरणले प्रदेशले थप अधिकार पाउने जिकिरसमेत गरे ।