जनकपुरधाम, १२ फागुन । जनकपुरधामस्थित अक्षर विद्या मन्दिरले आफ्नो ९औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।

चार दिवसिय रुपमा आयोजित वार्षिकोत्सव कार्यक्रमको अन्तिम दिन शुक्रबार भारतका मैथिली लोक प्रसिद्ध गायिका मैथिली ठाकुरको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ठाकुरले विद्यालयको उत्तरोत्तर प्रगतीको कामना गर्दै अक्षर विद्या मन्दिरजस्ता विद्यालयहरुले अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि अभिभावकले आफ्ना बालबालिकालाई बाहिर पठाउने समस्याबाट छुट्कारा दिएकोले विद्यालयको प्रशंसा गरिन् ।

व्यस्थापन समितिका अध्यक्ष पंकज जालानको अध्यक्षतामा आयोजित कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख विश्वराज खड्का, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठ, निर्मल चौधरीलगायतकाहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूले विभिन्न किसिमका नृत्य, नाटक र आफ्नो कला प्रस्तुत गरेका थिए ।

चार दिनसम्म चलेको वार्षिकोत्सव कार्यक्रममा पहिलो दिनको कार्यक्रमको प्रमुख अतिथी जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साह थिए । सो दिनको कार्यक्रमको विषयवस्तु नेपालको वरिपरीको देशको बारेमा जानकारी रहेको थियो ।

त्यस्तै दोस्रो दिनको कार्यक्रमको प्रमुख अतिथी प्रदेश सरकारका सामाजिक विकास मन्त्री सुरिता साह थिइन् । त्यस दिन नेपालमा मनाइने विभिन्न पर्वहरूको वर्णन गरिएका थियो । तेस्रो दिनको कार्यक्रम मधेस प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री सरोजकुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।उक्त दिनको विषयवस्तु ‘सर्वधर्म सम्भव’ रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका निर्देशक प्रकाश कुमार केजरीवालले गरेका थिए ।

अक्षर विद्या मन्दिर जनकपुरधामको पहिलो र एकमात्र आइ.एस.ओ प्रमाणित स्मार्ट विद्यालय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंकज जालानले जानकारी दिए ।