जनकपुरधाम, १२ फागुन । धनुषा प्रहरीले विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले एकैदिन १६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।

प्रहरीले जिल्लाका विभिन्न स्थानहरूबाट विभिन्न मुद्दामा फरार रहेका फरार प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाहीका लागि धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बेद प्रकाश गौतमले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा जिल्लाको विदेह न.पा–५ बस्ने कर्तव्य ज्यान मुद्दाका सहमद राईन, गणेशमान चारनाथ न.पा–३ बस्ने लागूऔषध मुद्दाका अनिल मण्डल, धनौजी गापा–३ बस्ने गालीगलौज मुद्दाका रामदेव मुखिया, जनकपुरधाम–२० बस्ने कुटपिट मुद्दाका राम किशोर दास तत्मा, गंगा दास, श्रीवती पेकी तत्वनी, रामहित दास, चन्देश्वर दास, पुनित दास, जनकपुरधाम–२० बस्ने सम्बन्ध विच्छेद मुद्दाका रामवृक्ष मण्डल, मुखियापट्टी मिसहरनिया गा.पा–६ बस्ने कुटपिट मुद्दाका लाल मण्डल र बहादुर यादव, क्षिरेश्वरनाथ न.पा–१ बस्ने रामेश्वर सदा, टिका प्रसाद यादव र हृदय यादव तथा जनकपुरधाम–२४ बसहिया बस्ने रामदेव मुखिया विन रहेका छन् ।