काठमाडौं, १२ फागुन । नेपालले यूएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।

शुक्रबार भएको खेलमा सिंगापुरलाई ९६ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । सिंगापुरले भने प्रतियोगितामा हारबाट शुरुवात गरेको छ ।

नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो । उसका लागि आर्यन मोदीले ५८, सिद्धान्त श्रीकान्तले ४४, अर्जुन नागपाल र अभ्युदय छाजेरले १४/१४ रन बनाए । नेपालका लागि हेमन्त धामी, सुवास भण्डारीले दुई/दुई र विशाल विक्रम केसीले एक विकेट लिए ।

त्यसअघि दुबईको अजमानस्थित इडेन गार्डेन ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनायो । नेपालका लागि आकाश त्रिपाठी र विशाल विक्रम केसीले अर्धशतकीय पारी खेले ।

१ सय बलको सामना गरेका त्रिपाठीले ७ चौका र एक छक्काको मद्दतमा सर्वाधिक ७८ र केसीले ५४ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै नटआउट ६३ रन बनाए । त्यस्तै, अर्जुन कुमालले ३७, कप्तान देव खनालले २१, दीपक बोहराले १७, दीपकप्रसाद डुम्रेले १० र सुवास भण्डारीले अविजित १२ रनको योगदान दिए ।

सिंगापुरका लागि बलिङमा अभ्युदय छाजेर, आर्यवीर चौधरीले २/२, अद्वित्य भार्गव र महियु भाटियाले एक/एक विकेट हात पारे । दोस्रो खेलमा नेपालले शनिबार कुवेतको सामना गर्नेछ ।