सन्दीपलाई सर्वोच्चले दिएन यूएई जाने अनुमति

काठमाडौं, १२ फागुन । राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न यूएई जान पाउनुपर्ने मागसहित दायर गरेको निवेदनमा अदालतले अनुमति दिन अस्वीकार गरेको छ ।
न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले शुक्रबार लामिछानेको मागबमोजिम अनुमति दिन अस्वीकार गरेको हो ।
नाबालिक बलात्कारको अभियोग लागेका लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो ।तर, जिल्लाको आदेश उल्टाउँदै उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गरेको थियो ।
उच्च अदालतले लामिछानेलाई विदेश जान नपाउने तथा काठमाडौंबाहिर जानका लागि पनि प्रहरीलाई जानकारी दिनुपर्ने सर्त राखेको थियो । उच्चको विदेश जान नपाउने शर्तविरुद्ध लामिछानेले सर्वोच्चमा निवेदन दायर गरेका हुन् ।
उनको मागबमोजिम आदेश जारी भएन । आइतबार पुनः सुनुवाइ जारी रहने भएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


