जनकपुरधाम, १२ फागुन । जनकपुरधामका नागरिक अगुवाहरुले जनकपुरधाम उपमहानगरपालिकासँग विभिन्न ६ वटा सूचना माग गरेका छन् ।

नागरिक अगुवा मुरली मनोहर मिश्रको नेतृत्वमा पुगेको टोलीले सूचना माग गरेको हो ।

सूचनामा जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा २०७६ माघ २ गते जारी गरिएको पत्र बमोजिम जानकी फुलवारीको जग्गा नापजाँचको मुचुल्कासहितको प्रतिवेदनलाई यथाशिघ्र व्यवस्थापन गर्न उपमहानगरलाई पठाएको पत्रलाई हालसम्म प्रभावकारी कार्यान्वयन नगरिएको बारे कारण माग गरिएको छ ।

त्यस्तै, जिल्ला प्रशासन कार्यालयद्धारा २०७६ बैशाख ९ गते जारी गरिएको पत्र बमोजिम नगरभित्रका अस्पताल तथा विद्यालय क्षेत्रमा मदिरा तथा सुर्तीजन्य कारोवारमा कडाईका साथ नियन्त्रण गर्न/गराउन भनिएकोमा हालसम्म पनि कुन कारणले कारवाही नगरिएको बारे सोधिएको छ ।

गत माघ १४ गते नगर प्रमुख मनोजकुमार साहको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको उपस्थितिमा नागरिक समाज सहित शहरी विकास कार्यालय समेतको प्रतिनिधित्वमा सरोकारवालाहरुको सक्रिय सहभागिताद्वारा रामसागर पोखरीको सिमांकन, नक्सांकन तथा सौन्दर्यीकरण एवम् दशरथ मन्दिरलाई अतिक्रमणमुक्त गराउने निर्णय सम्बन्धि हालसम्म के कति काम कारवाही अगाडी बढाएको छ कि छैन ? यदि छ भने त्यस सम्बन्धी भएको काम कारवाहीको प्रगति विवरणको प्रमाणित प्रतिलिपिहरु माग गरिएको छ ।

सूचनामा गत माघ २० गते धार्मिक तथा सार्वजनिक तेलहा–मडहा पोखरीलाई अतिक्रमणमुक्त बनाउने उदेश्यले ७ दिने सूचना प्रकाशन गरी माघ २७ गतेभित्र आ–आफ्नो भौतिक संरचना हटाउन जानकारी गराएको १२ दिन बितिसक्दा समेत कुन कारणले अहिलेसम्म किन हटाईएको छैन ? अतिक्रमण हटाउन जारी गरिएको पत्रको प्रभावकारी कार्यान्वयन कहिले गर्ने ? मडहा पोखरीको पश्चिम डिलमा निर्मित सार्वजनिक शौचालयको नक्सा पास भएको छ कि छैन ? वडा नम्बर–१० को वडा कार्यालयद्वारा वडावासीहरुलाई प्रदान गरिने सशुल्क तथा निःशुल्क सेवाहरु सम्बन्धि वडापत्र जारी गरिएको छ कि छैन ? भन्ने मागहरु समेटिएका छन् ।

नगरिक अगुवाहरु मुरली मनोहर मिश्रसहित मनोज कुमार चौधरी, अमर साह, राम किशोर ठाकुर, मुकेश दत्त, श्रवन कुमार साह र कालो देवी यस्तो माग गरेका हुन् ।