जनकपुरधाम, १० फागुन । जनकपुरधाममा ‘अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता’ को आयोजना हुन लागेको छ ।

विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको एक महिना नबित्दै यहाँ पुनः फागुन १६ गतेदेखि अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो । जनकपुर क्रिकेट एकेडमीको आयोजनामा स्थानीय रंगभूमी मैदानमा उक्त प्रतियोगिता हुने भएको छ ।

बुधबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरि राष्ट्रिय क्रिकेट टिमका खेलाडीसमेत रहेका मधेस प्रदेश क्रिकेट टिमका कप्तान हरिशंकर साहले प्रतियोगितामा जनकपुरधामका निजी तथा सामुदायिक कलेजहरूको सहभागिता रहने जानकारी दिएका छन् ।

लिगको आधारमा हुने प्रतियोगिताहरूमा जनकपुरधाम तथा आसपासका कलेजहरूले भाग लिने उनले बताए । प्रतियोगितामा पहिले आउने १६ वटा टिमलाई सहभागी गराइने र त्यसभन्दा बढि संख्या भए क्वालिफाईङ्ग प्रोसेसको आधारमा छनोट गरिने साहले जानकारी दिए ।

प्रतियोगितामा सहभागिताका लागि अहिलेसम्म १२ वटा टिमले इन्ट्रीसमेत गराइसकेको प्रतियोगिताका संयोजक प्रशान्त अरविन्दले जानकारी दिए ।

उनले खेलप्रति रुची जगाउन र मानसिक तथा शारिरीक रुपमा मजबुत बनाउन तथा क्रिकेटप्रतिको आकर्षण बढाउने उद्देश्यका साथै प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । भोलिको दिनमा क्रिकेट खेलमा युवाहरूलाई अवसरलाई प्रदान गर्नु पनि यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको उनले बताए ।

प्रतियोगिताका विजेता र उप–विजेतालाई आकर्षक ट्रफि प्रदान गर्नुका साथै बेस्ट फिल्डर, बेस्ट बलर, बेस्ट ब्याटसम्यान र बेस्ट किपरलाई पनि प्रोत्साहन स्वरुप प्रमाणपत्रसहित कप दिइने धनुषा क्रिकेट संघका उपाध्यक्ष आकाश पाण्डेले जानकारी दिए ।

यसअघि विद्यालय स्त्तरीय क्रिकेट प्रतियोगिताबाट उत्कृष्ट खेलाडीहरूलाई छनोट गरी तीनवटा टिम बनाइएको छ । उनीहरू अहिले नियमित अभ्यास गरिरहेका छन् ।