काठमाडौं, १० फागुन । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आईसीसी लिग–२ एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि युएई लैजान अनुमति लिने प्रक्रिया सुरु गरेको छ ।

क्यानका व्यवस्थापक विनोद दासले सन्दीपलाई युएई लैजानका लागि सरोकारवाला निकायसँग अनुमतिका लागि प्रक्रिया सुरु गरेको बताएका छन् ।

नाबालिग बलात्कार आरोपमा लागेका सन्दीपलाई उच्च आदालत पाटनले पुस २८ मा २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो ।
उच्च अदालतले आदेशका क्रममा सन्दीपलाई विदेश भ्रमणमा रोक लगाएको थियो । त्यस्तै काठमाडौँ छाड्न पनि अदालतको अनुमति लिनुपर्ने आदेश त्यसबेला भएको थियो ।

घरेलु मैदानमा मंगलबार सम्पन्न आईसीसी लिग–२ एक दिवसीय त्रिकोणात्मक सिरिजअन्तर्गत स्कटल्यान्ड र नामिबिया सम्मिलित खेलमा सन्दीपले उत्कृष्ट प्रर्दशन गरेका थिए । उनले ४ खेलमा १३ विकेट लिएका थिए ।

युएई र पपुवा न्यू गिनीसँगको त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली शनिबार युएई जाने तालिका छ । नेपालले सिरिजको आफ्नो पहिलो खेल २७ फेब्रुअरीमा पपुवा न्युगिनीसँग खेल्नेछ ।

दोस्रो खेल २ मार्चमा युएईसँग र त्यसको भोलिपल्ट फेरि पपुवा न्युगिनीसँग खेल्नेछ । सिरिजको अन्तिम खेल ६ मार्चमा युएईसँग खेल्नेछ । त्यसपछि नेपालले फेरि ९ मार्चदेखि घरेलु मैदानमा पपुवा न्युगिनी र युएई सम्मिलित त्रिकोणात्मक सिरिज खेल्ने तालिका छ ।