काठमाडौं, १० फागुन । फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावली प्रकाशन गरेको छ ।

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको नामावली सार्वजनिक गरेको हो ।

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रियसभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी ८८४ जनाले मतदान गर्न पाउने भएपनि यस पटकको निर्वाचनमा ३ जना मतदाता कम हुनसक्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

उनका अनुसार प्रतिनिधिसभाका २७५ मध्ये चितवन–२ बाट निर्वाचित रवि लामिछाने पदमुक्त भएको र मनाङबाट निर्वाचित टेकबहादुर गुरुङ निलम्बनमा परेकोले मतदान गर्न पाउने छैनन् भने अर्का एकजना मतदाताको नाम आयोगले खुलाएको छैन ।

बुधबार मध्याह्न १२ बजेदेखि ३ बजेसम्म मतदाता नामावली उपर निवेदन तथा उजुरी दिने समय तोकिएको र त्यसमा बिहीबारसम्म दाबी विरोधको उजुरी दिन सकिनेछ । दाबी विरोधबाट मतदाताको नाम, थर, उमेर, पद सच्याउन र नाम छुटेमा समावेश गर्न सकिनेछ ।

उजुरीमाथिको छानबिन गरी शुक्रबार अन्तिम नामावली सार्वजनिक गर्ने निर्वाचन आयोगको कार्यक्रम छ । शनिबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

२०७८ सालको जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक नभएकाले २०६८ सालको जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुनेछ ।