काठमाडौं, ९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिज ‘क्लिन स्विप’ गरेपछि प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत क्रिकेट टोलीलाई बधाई दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘आइसिसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्याण्डमाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लिन स्विप गरेकोमा नेपाली टीमलाई हार्दिक बधाई ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

घरेलु सिरिजको अन्तिम खेलमा नेपालले स्कटल्यान्डमाथि दुई विकेटको रोमाञ्चक जित निकालेको हो । स्कटल्यान्डले दिएको २१३ रनको लक्ष्य नेपालले ३५ बल बाँकी हुँदै पूरा गरेको थियो ।