काठमाडौं, ९ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले लगातार चौथो जित निकालेको छ ।

सिरिजको अन्तिम खेलमा नेपालले मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा लिग–२ को च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको जित निकालेको हो । लिग–२ मा नेपालले लगातार चौथो खेलमा जित निकालेको यो पहिलो पटक हो ।

२१३ रनको लक्ष्य नेपालले ८ विकेटको क्षतिमा ३५ बल बाँकी रहँदै पूरा गर्यो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले १०१ बलमा ९५ रन प्रहार गरे । नटआउट रहेका अर्का खेलाडी करण केसीले ३१ रन हाने ।

नेपालका दुवै ओपनर चल्ल सकेनन् । ओपनरद्वय कुशल भुर्तेल १ रन र आसिफ शेख १२ रनमा आउट भए । कुशल दोस्रो ओभर र आसिफ सातौं ओभरमा आउट भएका थिए ।

ज्ञानेन्द्र मल्ल २१ रन बनाएर खेलिरहदा मार्क वाटको एलबिडब्लूको धरापमा परे । ज्ञानेन्द्रले ३० बलमा ४ चौका प्रहार गरे । कुशल मल्लले १७ जोड्दा सन्दीप जोरा १ रन, दीपेन्द्रसिंह ऐरी ७ रन र सोमपाल कामी २ रनमै आउट भए । लगातार विकेट गएपछि नेपाल दबाबमा परेको थियो । सन्दीप लामिछाने आठौं विकेटको रुपमा ९ रन बनाएर आउट भए ।

बलिङमा स्कटल्यान्डका मार्क वाटले ३ विकेट लिए । उनले १० ओभरमा १ मेडन राख्दा २९ रन खर्चिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड ४६.१ ओभरमा २१२ रनमा अलआउट भयो ।

स्कटल्यान्डका लागि ओपनिङ ब्याट्सम्यान जर्ज मन्जीले ६० रन जोडे । अर्का ओपनर केल कोइटजर २२ रनमा आउट भए । कप्तान रिची बेरिङटन शून्य र टोमस म्याकिनटोस १ रनमा आउट भए । चारै जनालाई सन्दीप लामिछानेले आउट गरेका थिए ।

क्रिस्टोफर म्याकब्राइटलाई कुशल मल्लले २२ रनमा एलबिडब्लूको धरापमा पारे । म्याथ्यु क्रसलाई दिपेन्द्रसिंह ऐरीले ३४.३ ओभरमा ४२ रनमा रनआउट गरे ।

दिपेन्द्रले डाइरेक्स हिटमार्फत क्रसलाई पेभेलियन फर्काएका थिए । दुई बलपछि करण केसीले माइकल लिस्कलाई शून्यमा बोल्ड गरे । यस्तै करणले ब्रेन्डन म्याकमुलनलाई ३१ रनमा ललितनारायण राजवंशीको हातबाट क्याच गराए ।

क्रिस ग्रेभ्सलाई ललितले ७ बलमा एलबिडब्लू आउट गरे भने मार्क वाट ८ रनमा आउट भए । बलिङमा नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए । उनले १० ओभरमा ४५ रन दिए । करण केसीले ३ विकेट लिए । उनले ८.१ ओभरमा ४२ रन खर्चिए। ललित र कुशल मल्लले १–१ विकेट लिए ।

लिग–२ मा स्कटल्यान्ड च्याम्पियन बनेको थियो । लिग–२ को शीर्ष टिम स्कटल्यान्डले ३६ खेलबाट ५० अंक जोडेको छ । दोस्रो स्थानको ओमानले आफ्ना सबै ३६ खेल खेल्दा ४४ अंक जोडेको छ । तेस्रो स्थानको नामिबियाले अन्तिम ३४ खेलबाट ३७ अंक जोडेको छ । चौथो स्थानको अमेरिकाले सबै ३६ खेलबाट ३५ अंक जोडेको छ ।

लिग–२ मा नेपाल छैटौं स्थानमा छ । नेपालले लिग–२ मा आफ्ना ८ खेल खेल्न बाँकी छदा २८ खेलबाट २६ अंक जोडेको छ । नेपालभन्दा माथि रहेको पाँचौ स्थानको युएईको २६ खेलबाट २७ अंक छ । पुछारको पिएनजीको २८ खेलबाट ५ अंक मात्र छ ।

लिग–२ का शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन् । बाँकी चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । लिग–२ बाट स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । अब बाँकी एक स्थानका लागि नामिबिया, नेपाल र युएईबीच प्रतिस्पर्धा छ ।

आइसिसीले क्रिकेट विश्वकप २०२३ को छनोटका लागि तीन वटा लिग गरिरहेको छ । जसमा टेस्ट मान्यता प्राप्त १२ टिम र नेदरल्यान्ड्स गरी १३ टिमबीच सुपर लिग, नेपालसहित सात एकदिवसीय मान्यता प्राप्त टिमबीच लिग–२ र एसोसिएट टिमबीच प्रतिस्पर्धा भएको च्यालेन्ज लिग रहेका छन् ।

सुपर लिगबाट ७ टिम र आयोजक भारत गरी ८ टिम विश्वकप २०२३ मा पुग्नेछन् । अब दुई स्थानका लागि सुपर लिगका ५ टिम, लिग–२ का ३ टिम र क्वालिफायर प्लेअफका २ टिम गरी १० टिमबीच छनोट प्रतियोगिता हुँदैछ ।

क्वालिफायर प्लेअफमा लिग–२ का ४ टिम र च्यालेन्ज लिगका २ टिम गरी ६ टिमबीच प्रतिस्पर्धा हुनेछ ।