काठमाडौं, ८ फागुन । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको दिन जारी गरेको विज्ञप्ति असंवैधानिक भएको बताएका छन् ।

पार्टीका तर्फबाट सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालले सो वक्तव्य लोकतान्त्रिक गणतन्त्र विरुद्धको असंवैधानिक र अनधिकृत भएको जिकिर गरेका हुन् ।

‘जनताले आफ्ना प्रतिनिधिमार्फत निर्माण गरेको नेपालको संविधानद्वारा सामान्य नागरिक बनाइएका पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते ७३औं प्रजातन्त्र दिवसको सन्दर्भमा दिएको वक्तव्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।

नेपालमा जनक्रान्तिद्वारा राजतन्त्रको अन्त्य गरिसकिएको र अहिले कोही पनि ‘श्री ५ महाराजधिराज नरहेको’ विज्ञप्तिमार्फत जनाइएको छ । उक्त वक्तव्यमा गणतान्त्रिक व्यवस्था र राजनीतिक दलहरूप्रति लगाइएको लाल्क्षणा आपत्तिजनक रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा सबै लोकतान्त्रिक गणतन्त्रवादी शक्ति र व्यक्तिहरू यसखाले गतिविधिका विरुद्ध एकजुट हुनुपर्नेमा पनि जोड दिइएको छ ।