काठमाडौं, ८ फागुन । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको तयारी थालेको निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

निर्वाचन आयोगले सोमबार संघीय संसदमा मतदान अधिकृतको कार्यालय स्थापना गरेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले बताए ।

यही फागुन २५ गते हुने निर्वाचनको मतदान स्थल नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरलाई तोकिएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार बुधबार मतदाताको नामावली सार्वजनिक गरिने भएको छ ।

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ ।

उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए ।

राष्ट्रपति निर्वाचनमा संघीय संसद र प्रदेशसभा सांसदले मतदान गर्नेछन् ।