–मुकेश झा
सर्लाही, ७ फागुन । मधेस प्रदेशका अर्थमन्त्री संजयकुमार यादवले वैदेशिक रोजगारमा रहेका श्रमिकहरुले १ करोडको लागतमा निर्माण गरेको सर्लाहीको हरिनाथ महादेव मन्दिरको उद्धघाटन गरेका छन् ।

सर्लाहीको हरिपूर्वा नगरपालिका शलेस पोखरीस्थित हरिनाथ महादेव मन्दिर संरक्षण समितिले २०७२ सालमा गरेको अठोट अनुरुप मन्दिर निर्माणका लागी खाडी मुलुकमा रहेका स्थानीय युवाहरुले सहयोग गरेका हुन् ।

युवाहरुको आर्थिक अनुदानबाट हरिनाथ महादेव मन्दिर निर्माण गरिएको समितिका अध्यक्ष रामपृत यादवले बताए । ७ वर्षको प्रयासपश्चात गत असोज २ गते मन्दिर निर्माणको कार्य सम्पन्न भएको समितिका कोषाध्यक्ष प्रमोद साहले बताए ।

महाशिवरात्रिको अवसर पारेर फागुन ५ गतेदेखी ७ गतेसम्म हरिनाथ महादेव मन्दिरमा शिवलिङ्ग स्थापना र प्राणप्रतिष्ठा सम्पन्न भएपश्चात आइतबार अर्थमन्त्री यादवले उद्धघाटन गरेका छन् ।

अर्थमन्त्री यादवले हरिनाथ महादेव मन्दिर क्षेत्रलाई आगामी बजेटबाट धार्मिक पर्यटकिय स्थलको रुपमा चिनाउने गरि बिकास निर्माणमा सरकारले पूर्ण सहयोग गर्ने बताए । हरिपूर्वा नगरपालिकामा शिक्षा, स्वास्थ्य तथा सिचाई क्षेत्रमा पनि प्रदेश सरकारको योगदान रहने उनले प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा हरिपूर्वा नगरपालिकाका नगर प्रमुख बिनोद कुमार साह, उपप्रमुख सुमिन्त्रा देवी, जसपाका जिल्ला अध्यक्ष बिरेन्द्र यादव, उपाध्यक्ष गणेश कुमार यादव, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिकर्मी, युवा, स्थानियलगायतको उल्लेख्य उपस्थिती रहेको थियो ।