काठमाडौं, ७ फागुन । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईंले पार्टी परित्यागको घोषणा गरेका छन् ।

एमालेको उद्योग विभाग उपप्रमुखसमेत रहेका प्रसाईंलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेपछि पार्टी छाडेको घोषणा गरेका हुन् ।

उनले केही दिनअघि झापाको काकडभिट्टामा पूर्वराजपरिवारको उपस्थितिमा एक धार्मिक अभियान सुरु गरेका थिए । सोही अभियान आयोजना गरेका कारण उनलाई प्रदेश १ कमिटीले कारबाही सिफारिस गरेको थियो ।

उनले आइतवार झापामा पत्रकारहरुसँगको कुराकानीका क्रममा एमाले छाडेर जनतामाझ आइसकेको बताए । आफूमाथि कारबाही हुने भएपछि काठमाडौंमा ओलीलाई भेटेर केन्द्रीय सदस्य तपाईं नै राख्नु भनेर हिँडेको दाबी गरे ।

आफू कुनै पार्टीको झोले र गुलाम भएर नहिँड्ने बताउँदै प्रसाईंले फागुन १० गतेपछि देशभर विद्रोह उठाउने दाबी गरे ।