बुटवल, ७ फागुन । जनता समाजवादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाबाट प्रदेशको मन्त्रीमा भण्डारीलाल यादवलाई पठाउने तयारी छ ।

सोमबार बिहान बस्ने प्रदेश पदाधिकारी बैठकले मन्त्रीको नाम टुंगो लगाउने जसपा लुम्बिनी प्रदेश अध्यक्ष अशोककुमार यादवले जानकारी दिए । सोमबारै शपथग्रहण कार्यक्रम राख्ने तयारी छ ।

मुख्यमन्त्री चयनको बेला विश्वासको मत दिएको जसपाका तीन सांसद छन् । माघ २८ मा विस्तार गरिएको मन्त्रिमण्डलमा नअटाएको जसपालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय दिएर सरकारमा लैजाने सहमति भएको सो पार्टीले जनाएको छ ।

हाल कृषि तथा भूमि व्यवस्थामन्त्रीमा एमालेबाट तुलसीराम शर्मा छन् । उनलाई अन्य मन्त्रालयमा लगेर जसपालाई सो मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

प्रदेशमा एमालेबाट मुख्यमन्त्रीसहित ५, माओवादी केन्द्रबाट ३, जनमत र राप्रपाबाट १–१ मन्त्री छन् ।