जनकपुरधाम, ७ फागुन । महोत्तरीमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको छ ।

जिल्लामा हात्तीपाइ रोगको प्रकोप बढ्दै गएपछि प्रतिरोधात्मक औषधि घर–घरमा गएर खुवाइने व्यवस्था गरिएको हो ।

फागुन ११ देखि २४ गतेसम्म स्वास्थ्यकर्मीहरू घरघरमा पुगेर ३ वर्षदेखी माथि उमेरका सवैलाई उचाइ, वजनअनुसार औषधि खुवाइने जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

गत वर्षको एक तथ्याङ्क अनुसार १ हजार ५ सय जनामा संक्रमण देखापरेको थियो ।

स्वास्थ्यकर्मीहरूको अनुसार हात्तीपाइले रोगको इपिडेमियोलोजी समयमा गर्न सकिएन भने यसले भयावह रूप लिन सक्छ । हात्तीपाइले रोगको धेरैजसो संक्रमण लक्षण विनाको हुन्छ भने पछि गएर अङ्ग सुनिने पनि गर्दछ ।

कतिपयमा अण्डकोष, केहीमा खुट्टा, केहीमा हात, केहीमा स्तन र शरीरका अन्य अङ्गहरू सुनिने स्वास्थ्यकर्मीहरूको भनाइ छ । यो सुनिएपछि उपचार समेत कमै हुने पनि स्वास्थ्यकर्मीहरूले बताएका छन् ।