७३औं प्रजातन्त्र दिवस मनाइँदै, मुख्यमन्त्रीद्वारा प्रदेशवासीलाई शुभकामना

जनकपुरधाम, ७ फागुन । नेपालमा विभिन्न कार्यक्रमको आयोजना गरी आज ७३औं प्रजातन्त्र दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिकरूपमा विभिन्न कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।
विक्रम सम्वत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष ७ फागुमा प्रजातन्त्र दिवस मनाइन्छ ।
राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ । प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।
यसैबिच मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रजातन्त्र दिवसको अवसरमा प्रदेशवासीलाई शुभकामना दिएका छन् ।प्रजातन्त्रको दिवसको अवसरमा एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री यादवले प्रदेशवासीमा शुभकामना दिएका हुन् ।
मुख्यमन्त्री यादवले लोकतन्त्र, संघियताको सुदृढीकरण र जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्न सकोस् भनी कामना गरेका छन् ।
मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवनको आहुति दिने शहीदहरूप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जीवनभर प्रजातान्त्रिक मूल्य, मान्यता, आदर्श र सिद्धान्तप्रति प्रतिबद्ध रहनुभएका प्रजातन्त्रका सेनानीहरुप्रति उच्च सम्मान प्रकट गर्दछु । प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गर्ने राजनीतिक दल, आम जनसमुदाय, प्रजातन्त्रप्रति सद्भाव राख्नुहुने छिमेकी राष्ट्र र अन्तर्राष्ट्रिय मित्रहरुमा विशेष आभार प्रकट गर्दछु ।’
‘शहीदहरूको बलिदानी र प्रजातन्त्र सेनानीहरुको अथक परिश्रमबाट २००० साल फागुन ७ गते प्राप्त प्रजातन्त्र दिवसको अवसरमा मधेस प्रदेशसहित देश र विदेशमा रहेका सम्पूर्ण नेपाली जनताको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ मुख्यमन्त्री यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


