काठमाडौं, ६ फागुन । नेपालले नामिबिया विरुद्धको खेलमा शानदार जित हासिल गरेको छ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत शनिबार भएको खेलमा नेपालले नामिबियालाई तीन विकेटले पराजित गरेको हो ।

नामिबियाले दिएको २७५ रनको लक्ष्य नेपालले ७ विकेटको क्षतिमा ४७.३ ओभरमा पूरा गरेको छ ।

९ रनमै कुशल भुर्तेललाई गुमाएको नेपालका लागि आशिफ शेख र ज्ञानेन्द्र मल्लले १३९ रनको साझेदारी गरेका थिए । जसमा आशिफले ९८ बलमा ८१ र ज्ञानेन्द्रले ७४ बलमा ६५ रन बनाएका थिए ।

आशिफ र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि किर्तीमानी १३९ रनको साझेदारी गर्दै इनिङ्स सम्हालेका थिए । ओडीआईमा नेपालको यो सर्वाधिक साझेदारी हो ।

यो जोडीले यही लिग–२ को पहिलो खेलमा कुशल भुर्तेल र रोहित पौडेलले गरेको १३३ रनको साझेदारी तोडेका हुन् ।

२७औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि साझेदारी तोडिएको थियो । ज्ञानेन्द्रले ७४ बल खेल्दै ५ चौका र ३ छक्कमा मद्दतमा ६५ रन जोडे ।

आशिफले ९८ बल खेल्दै ८ चौका र २ छक्का मद्दतमा ८१ रन बनाए । आशिफ ३२औं ओभरमा आउट भएका थिए ।

त्यसपछि आएका कुशल मल्लले पनि नेपालका लागि अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ६२ रन बनाए । त्यस्तै, रोहित पौडेलले ४९, सोमपाल कामीले ८, सन्दीप जोराले ३ तथा दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले १/१ रन बनाए ।

नामिबियाका लागि रुबेन ट्रम्पेलमनले ३, बेनार्ड स्कल्जले २ र टंगेनी लुंगामेनी १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले ६ विकेटको क्षतिमा २७४ रन बनाएको थियो । नामिबियाका लागि जेन ग्रिनले ७५ रन बनाए । उनले ६३ बलमा ११ चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, पिक्की या फ्रेन्सले ४९, ह्यान्डी लोरेन्सले ४१, रुबेन टुम्पेलमनले २४, मिचेल भानलिंगेनले २२ र कार्ल ब्रिक्स्टोकले २० रन बनाए ।नेपालका लागि सन्दीप लामिछानेले ३ र करण केसीले १ विकेट लिए । नामिबियाका दुई खेलाडी रनआउट भए ।