जनकपुरधाम, ५ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघ सरकारसँग निजामती ऐन र प्रहरी समायोजन गर्न माग गरेका छन् ।

शुक्रबार जनकपुरधाम व्यापार मेलाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै मुख्यमन्त्री यादवले संघ सरकारले निजामती ऐन र प्रहरी समायोजन गरे २४ घण्टाभित्र मधेस प्रदेशमा कुनैपनि अनियमितता नहुने दाबीसमेत गरेका हुन् ।

उनले भने, ‘संघ सरकार निजामती ऐन र प्रहरी समायोजन गर्न तयार भए २४ घण्टाभित्र यस प्रदेशमा कुनै किसिमको अनियमितता हुँदैन । भ्रष्टाचार र अपराध केही पनि हुँदैन । त्यसको ग्यारेन्टी म लिन्छु ।’

उनले संघीयताविरोधीहरुका कारण विगतदेखि नै प्रदेश सरकारको धेरै काममा अप्ठ्यारो सिर्जना भइरहेको आरोपसमेत लगाए ।

अर्को प्रसंगमा बोल्दै उनले विगत पाँच वर्षमा प्रदेश सरकारले सबभन्दा ठूलो काम जनकपुरधामलाई राजधानी तोकेर गरेको जिकिर गरे । उनले आफू सभामुख रहेको बेला आफ्नो एक्लो प्रयासले जनकपुरधाम राजधानी र मधेस प्रदेश नामकरण भएको दाबी गरे ।

‘जनकपुरधाम राजधानी हुने अवस्था थिएन । विगतको सभामुख म स्वयं थिए । धनुषा र महोत्तरीबाहेक अन्य जिल्लाका कुनैपनि सांसदले जनकपुरधामलाई राजधानी बनाउन सहमति जनाइरहेका थिएनन्, ’उनले भने, ‘अधिकांश सांसदले जनकपुरधाममा महगाई धेरै छ ।यहाँका केही व्यापारीहरु पनि ग्राहक ठग्ने काम मात्र गर्छन । घरभाडा पाउन पनि मुस्किल छ । भेटेपनि एक महिनामै भाडा बढाइन्छलगायतका गुनासो सुनाउँथे । त्यस अवस्थामा पनि प्रदेश सरकार र म मिलेर सबै दलको नेतालाई कन्भिन्स गरी सम्पूर्ण सांसदहरुसँग एक एकजना गरि कुराकानी गरेर जसरी भएपनि यस ठाउँलाई राजधानी बनायौं ।’

पहिलादेखि नै राजधानी रहेको ठाउँ जनकपुरधाम र प्रदेशको पहिचानसहितको नाम मधेस प्रदेश भएको मुख्यमन्त्री यादवको दाबी छ ।

उनले भने, ‘मैले प्रदेशको नाम र राजधानीका लागि प्रयास नगरेको भए दुबै मध्ये एउटा पनि हुने थिएन । त्यसको शत प्रतिशत ग्यारेन्टी थियो ।’

उनले यस प्रदेशका हरेक जनताको मनमा संघीयताप्रति सकारात्मक भावना रहेको दाबी गरेका छन् । मुख्यमन्त्री यादवले राजधानीको मुख्य शहर जनकपुरधामको विकासका लागि एक वर्ष भित्र बजेट विनियोजन गर्ने प्रतिबद्धतासमेत जनाए ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य जुलीकुमारी महतो, मधेस प्रदेशकी सामाजिक विकास मन्त्री सुरिता कुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बसन्त कुशवाहा, प्रदेशसभा सदस्य रामअशिष यादव, दिपेन्द्र ठाकुर, पूर्वसांसद परमेश्वर साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष मनिका झालगायतका वक्ताहरुले आ–आफ्नो धारणा राखेका थिए ।