न्युजिल्यान्डमा ‘ग्याब्रिएल’का कारण ८ जनाको मृत्यु

एजेन्सी, ५ फागुन । न्युजिल्यान्डको उत्तरी टापुमा यस साता आएको चक्रवात ‘ग्याब्रिएल’का कारण आएको बाढी र पहिरोमा परी ८ जनाको मृत्यु भएको छ ।
चक्रवात र यसका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३ हजार ५ सय भन्दा बढी बेपत्ता भएका छन् । सन् २०११ को फेब्रुअरीमा क्राइस्टचर्चमा गएको भूकम्पपछि न्युजिल्यान्डमा अहिलेसम्म नदेखिएको उक्त प्रतिकूल प्राकृतिक घटनाका कारण करिब १० हजार मानिस विस्थापित भएको अधिकारीहरुले बताएका छन् ।
प्रहरीका अनुसार दुई वर्षीया बालिका बाढीमा फसेको अनुमान गरिएको छ । अकल्याण्डको मुरीवाईमा बिहीबार गएको पहिरोमा परेर एक स्वयंसेवक अग्निनियन्त्रकको शव पनि फेला परेको थियो ।
न्युजिल्यान्डका अन्य भागबाट ७० जनाभन्दा बढी कर्मचारीलाई हक्स बे र तायराविटीमा पुनः खटाइएको प्रहरीले जनाएको छ ।न्युजिल्यान्डले सोमबार देशको इतिहासमा तेस्रो पटक आपतकालीन अवस्थाको घोषणा गरेको छ । उत्तरी टापुमा व्यापक रूपमा विद्युत कटौती, उडान रद्द र विद्यालयहरू बन्द गरिएको छ ।
अकल्याण्ड र आसपासको क्षेत्र वाइकाटोमा भारी वर्षा र बाढीका कारण डुबानमा परेको दुई सातापछि मात्र यो घटना भएको हो । दुई साताअघि देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा भएको यस विपत्तिमा परी चारजनाको मृत्यु भएको थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


