राष्ट्रियताको रक्षाका निम्ति सधैं फ्रन्टलाइनमा रहनेछु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियताको रक्षाका निम्ति आफू सधैं फ्रन्टलाइनमा रहेको बताएका छन् ।
राष्ट्रिय जनमोर्चाका नेताहरूसँग शुक्रबार बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको नेतृत्वमा पुगेको टोलीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियता, संघीयता र जनजीविकाका सवालहरू समेट्दै ज्ञापनपत्र पेस गरेको थियो ।
भेटमा केसी नेतृत्वको टोलीले पछिल्लो अवधिमा बागलुङको गलकोट क्षेत्रमा महिलाहरूका गरगहना लुट्नका लागि ४ जनाको हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । साथै अन्य जिल्लाहरूमा पनि गरगहना लुटपाटका घटना घटेको र महिला असुरक्षित भएको भन्दै जनमोर्चाले सरकारको ध्यानाकर्षण गराएको हो ।
भेटमा प्रधानमन्त्री प्रचण्डले देशमा शान्ति सुरक्षा सुदृढ गर्न सरकार प्रतिवद्ध रहेको बताए । उनले बैठकस्थलबाटै नेपाल प्रहरीका महानिरीक्षक धिरज प्रताप सिंहसँग सम्पर्क गरी जनमोर्चाको ज्ञापनपत्र सम्वोधन हुने गरी शान्तिसुरक्षाको व्यवस्था गर्न निर्देशन दिए ।
जवाफमा प्रहरी महानिरीक्षक सिंहले तत्काल विशेष टोली खटाएर घटनाको अनुसन्धान र पीडितले न्याय पाउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
भेटमा जनमोर्चाका नेताहरूसँगको भेटमा प्रधानमन्त्रीले आफ्नो राजनीतिक जीवन राष्ट्रिय, जनतन्त्र र जनजीविकाको पक्षमा नै भएको स्मरण गराउँदै संघीयताबाहेक अन्य सबै मुद्दाहरू आफू जनमोर्चासँगै रहेको बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


