काठमाडौं, ४ फागुन । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयको शैक्षिक गुणस्तर सुधारको काम गरिरहेको जनाएको छ । बोर्डले कक्षा कोठाको परीक्षामुखी सिकाईलाई ज्ञानमुखी बनाउनका लागि राष्ट्रिय रुपमा प्रशिक्षक तयार गरिसकेको जनाएको छ ।

शिक्षकलाई नै प्रशिक्षकको रुपमा तयार गरेको बोर्डले अहिले देशभरबाट प्रत्येक जिल्लाको तीनजना प्रशिक्षक तयार गरेको र उनीहरुले प्रादेशिक प्रशिक्षक तयार गर्ने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए ।

कक्षाकोठा परिवर्तनको लागि शिक्षकको सिकाई प्रक्रियालाई पनि सुधार गर्नुपर्ने भएकोले बोर्डले सुधारका लागि काम गरिरहेको बोर्डका अध्यक्ष शर्माको भनाइ छ ।

बोर्डका अनुसार शिक्षकहरुलाई पाठ्यक्रम निर्माण, पाठ्यक्रमको आधारमा विशिष्टिकरण तालिका र विशिष्टिकरण तालिकाको आधारमा प्रश्नपत्र निर्माणको लागि कार्यशाला सञ्चालन गरेर तालिम दिइएको छ ।

बोर्डबाट प्रशिक्षित राष्ट्रिय स्तरका प्रशिक्षकहरुले प्रादेशिक स्तरका शिक्षकलाई प्रशिक्षण दिने र उनीहरुले पालिकास्तरका शिक्षकलाई प्रशिक्षण दिनेछन् ।

बोर्डको योजना अनुसार कक्षा ४–८ लाई आधारभूत तह र माध्यामिक तहमा दुई खण्डमा कक्षा ९, १० र ११, १२ गरी दुई खण्डमा केन्द्रित गरेर विषय शिक्षकहरुलाई कार्यशाला संचालन गरी प्रशिक्षण गर्नेछन् ।

प्रशिक्षित शिक्षकहरुले हरेक पालिकाका तीन जना शिक्षकलाई पाठ्यक्रम निर्माण, प्रश्नपत्र निर्माणदेखि नतिजा प्रकाशनसम्म कसरी सिकाईमुखी बनाउने भन्ने प्रशिक्षण दिनेछन् ।