जनकपुरधाम, ३ फागुन । जिल्ला अदालत धनुषाले पर्यावरण अभियन्ता दिलीप महतोको हत्यामा संलग्न रहेको भन्दै ३ जनालाई दोषी ठहर गरेको छ ।

जिल्ला अदालत धनुषाले अवैध उत्खनन रोक्न खोज्दा हत्या गरिएका दिलीपको मुद्दामा विपिनकुमार महतो, मुनिन्द्र महतो र जितेन्द्रकुमार महतोलाई दोषी ठहर गरेको हो ।

जिल्ला अदालत धनुषाका न्यायाधीश चित्रबहादुर गुरुङको एकल इजलासले बुधबार मुद्दाको फैसला गर्दै उनीहरूलाई दोषी ठहर गरेको श्रेष्तेदार विकास बस्नेतले जानकारी दिए ।

विपिन र मुनिन्द्रले दिलीपको नियतपूर्वक हत्या गरेकाले उनीहरूलाई मुख्य कसुरदार ठहर गरेको श्रेष्तेदार बस्नेतले बताए । त्यस्तै, जितेन्द्रलाई मतियारका रुपमा कसुरदार ठहर गरिएको हो ।

हत्याको आरोप लागेका अन्य चारजनालाई भने जिल्ला अदालतले सफाइ दिएको छ । सफाइ पाउनेहरूमा रोशनकुमार यादव, शत्रुधन महत्तो, सत्यनारायण र विनोद महतो रहेका छन् ।

कसुरदारहरूलाई फागुन १२ गते न्यायाधीश गुरुङले सजाय निर्धारण गर्ने भएका छन् ।

धनुषाको मिथिला नगरपालिका–५ का २४ वर्षीय दिलीपको २०७६ पुस २५ गते हत्या गरिएको थियो ।

दिलीपको परिवार असन्तुष्ट

यता, जिल्ला अदालतको फैसलामा दिलीप महतोको परिवारले असन्तुष्टि जनाएका छन् ।

सातै जनाको मिलेमतोमा दिलीपको हत्या गरिएको भए पनि अदालतले चारजनालाई सफाइ दिएकोमा दिलीपको परिवारले असन्तुष्टि जनाएको हो ।

दिलीपकी बहिनी लक्ष्मीले भनिन्, ‘हामीले न्याय पाएको अनुभूति भएको छैन । सातैजना मिलेर मेरो दाईको हत्या गरेका थिए । अहिले चारजनालाई सफाइ दिन मिल्दैन । हामी चुप बस्दैनौं । उच्च अदालत जान्छौं ।’