न्युजिल्याण्डमा चक्रवातबाट एक बालकसहित चारजनाको मृत्यु

एजेन्सी, ३ फागुन । न्युजिल्याण्डमा चक्रवात गेब्रियलबाट व्यापक क्षति भएको छ भने एक बालकसहित चारजनाको मृत्यु भएको छ ।
चक्रवातबाट उत्तरी टापु अधिक प्रभावित भएको छ । उत्तरी टापुको हक्सवेबाट ३ सय जनालाई उद्धार गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । जलमग्न घरका छतबाट उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरिएको हो ।
चक्रवात क्रमशः कमजोर भएको छ । यद्यपि त्यसबाट करिब १० हजार ५ सय मानिस विस्थापित भएका छन् । चक्रवात प्रभावित अधिकांश स्थानमा वर्षा रोकिए पनि विद्युत् सेवा अवरुद्ध भएको छ ।
डुवानमा परेका घरबाट पानीको सतह घटिसकेको छैन । रक्षा मन्त्रालयका अधिकारीहरूका अनुसार करिब १५ लाख न्युजिल्याण्डका जनता चक्रवातबाट प्रभावित भएका छन् । ९ हजारभन्दा बढी विस्थापित भएका छन् । अस्थायी आवासको व्यवस्था मिलाउन युद्धस्तरमा सुरक्षाकर्मी परिचालन भएका छन् । हालसम्म ३ हजार अस्थायी आश्रयस्थल निर्माण गरिएको छ ।
चक्रवात प्रभावित ८० हजार घरमा पुनःविद्युत् आपूर्तिको व्यवस्था गरिएको भए पन अझै १ लाख ४० हजार मानिस अध्याँरोमा बस्न बाध्य भएका छन् । अति प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न र पिउने पानी सञ्चय गर्न अनुरोध गरिएको छ । रक्षा मन्त्रालयका अनुसार ७ सय सुरक्षाकर्मी उद्धारमा खटिएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


