जनकपुरधाम, ३ फागुन । बुधबार बसेको मधेस प्रदेशको पहिलो अधिवेशनको छैठौं बैठकको प्रारम्भमा सभामुख रामचन्द्र मण्डलले ‘प्रदेशसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नेवित्तिकै कांग्रेसका सांसदहरुले बैठक अवरुद्ध गरे ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झा आफ्नो स्थानबाट उठेर भने, ‘सदन सञ्चालन गर्नुभन्दा पहिले हामी नेपाली कांग्रेसको तर्फबाट म प्रमुख सचेतकको हैसियतले के भन्न चाहन्छु भने हामी संसदीय दलमा कुनैपनि पार्टीले आफ्नो गेस्ट बोलाउन पाउन सक्छौं कि सक्दैनौं ? त्यो कुराको जवाफ नआउञ्जेलसम्म हामी सदन चल्न दिंदैनौं ।’ त्यसपछि कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेका थिए ।

सभामुख मण्डलले माननीय सदस्यहरु बस्नुस् भन्दा प्रमुख सचेतक झाले मर्यालापालक लगाएर गेटमा नेपाली कांग्रेसको संसदीय दलमा अतिथीलाई आउन दिइएन । त्यो कुरामा आपत्ति छ भन्दै पुनः आफ्नो स्थानबाट उठेका थिए ।

सभामुख मण्डलले फेरि भने, ‘ठिक छ माननीय जी बसौं । यसको बारेमा कि त बाहिर गएर छलफल गरौं एकचोटी नत्र यहिभित्र भन्नुहुन्छ भने त्यसलाई क्लियरीफाइ गरौं । यसलाई क्लियरीफाइ कि त भित्रै गरौं । यात सभामुखको चेम्बरमा गएर यसको बारेमा क्लियरीफिकेशन गरौं । के भन्नुहुन्छ त्यहि हामी गर्छौं । मुख्यरुपमा गेस्टलाई बोलाउने, राख्ने अवसर माननीय सदस्यहरुलाई छ । तर अराजकता गर्ने, समस्या क्रिएट गर्ने जस्तालाई गेस्ट भन्न सकिंदैन । ३ घण्टादेख जसले डिस्टर्ब गरिरहेको छ उसलाई गेस्ट भन्ने कि ऊ आफ्नो बिजनेश गर्न आएको हो ? त्यो बिजनेशको लागि यदि आएको छ भने प्रदेशसभामा प्रदेशसभाको निर्णयलाई अवहेलना गर्ने व्यक्तिको लागि यो ठाउँ कदापी हुन सक्दैन् ।’

त्यसपछि फेरि कांग्रेसका सांसद रामसरोज यादव कुन गेस्टलाई हामी बोलाउँछौं त्यो हाम्रो अधिकार हो । हाम्रो गेस्टले कसलाई पिटेको हो ? कस्तो अराजकता फैलाएको हो ? त्यो स्पष्ट गर्नुस् भन्दै आक्रोशमा आए । कसलाई बोलाउने नबोलाउने त्यो अधिकार हाम्रो हो भन्दै उनी गर्जिए ।

त्यसपछि सभामुख मण्डलले ‘ठिक छ बोलाउनुस् त्यसमा कुनै अवरोध छैन् । तर, कुन प्रयोजनले बोलाइएको हो त्यो प्रयोजन यदि क्लियर छ भने मलाई केही भन्नु छैन् । तपाईंको गेस्ट यदि बम लिएर यहाँ आयो भने त्यसलाई छिर्न दिन्छ कि दिइदैन । त्यसलाई के गर्ने हो त्यो तपाईं नै भन्नुस् । उनले प्रश्न गरे ।

सभामुख मण्डलको यस्तो भाषा सुन्नेवित्तिकै कांग्रेसकी सांसद जिवछी देवी यादव आक्रोशित हुँदै भनिन्, ‘माननीय सभामुख महोदयको ध्यानाकर्षण गराउन चाहन्छु । यहाँ कोही मान्छे बम लिएर भित्र छिर्नु भएको छैन् । तपाईं जस्तो गरिमामय पदमा बसेर बमको कुरा यो हाउसभित्र गर्नुहुन्छ । के तपाईंको यस्तै सोचलाई सकारात्मक सोच भनिन्छ ? तपाईं बमको कुरा गर्नुहुन्छ यदि स्पष्ट धारणा थियो भने त्यो गेस्ट कहाँको हो भन्ने कुरा यहि हाउसमार्फतबाट रुलिङ गरेर सम्पूर्ण सांसद महोदयलाई जिम्मेवारी दिएको भए हुन्थयो नि । यस्तो अमर्ययादित तरिकाले तानाशाहले गेटमै राकिदिने अनि उल्टै आएर तपाईं यो कुर्सीमा बसेर बमको कुरा गर्नुहुन्छ भने कस्तो शोभनीय लाग्छ ? यसको जवाफ जबसम्म आउँदैन, हामी संसद चल्न दिदैनौ ।’

विवादको मुख्य कारण यस्तो छ

स्रोतका अनुसार बैंक खाता सञ्चालनका लागि संसदभित्र मुख्य विवाद भएको हो । संसद सचिवालयले सांसदहरुको नाममा सुरुमा एभरेष्ट बैंकमा खाता खोल्ने भनेको थियो । पछि एनएमबी बैंकमा खोल्ने भनियो । त्यसकलागि सबै सांसदलाई परिपत्रसमेत गरिएको थियो ।खाता खोलाउनका लागि आज एनएमबी बैंकका कर्मचारीलाई प्रदेश सभामा बोलाइएको थियो ।

यता, कांग्रेसका सांसदहरुले आफूहरुलाई जुन बैंकमा मन लाग्छ त्यसमा हामी खाता खोलाउँछौं भन्दै नेपाल इनभेष्टमेन्ट मेगा बैंक लिमिटेडका कर्मचारीलाई संसदीय दलको कार्यालयमा बोलाएका थिए ।

तर, मेगा बैंकका कर्मचारीलाई सभामुख मण्डलले सुरक्षाकर्मी लगाएर भित्र प्रवेश गर्न नदिने निर्देशन दिएपछि विवाद उत्कर्षमा पुगेको थियो ।

सोही विषयलाई लिएर संसदमा चर्काचर्की भएको हो ।