जनकपुरधाम, ३ फागुन । नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरुले बुधबार बसेको मधेस प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।

प्रदेश सभाको बैठक बसे लगत्तै कांग्रेसले अतिथिलाई संसदीय दलको कार्यालयमा प्रवेश गर्न नदिइएको भन्दै बैठक अवरुद्ध गरेका हुन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले अतिथिलाई मर्यादापालक लगाएर संसदीय दलको कार्यालयमा किन प्रवेश गर्न नदिइएको भन्ने जवाफ नआएसम्म बैठक अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

कांग्रेसका प्रदेश सभा सदस्यहरुले बैठक सञ्चालन गर्न नदिएपछि सभामुख मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन् ।

आज बसेको पहिलो अधिवेशनको छैठौं बैठकमा सभामुख रामचन्द्र मण्डलले कार्यव्यवस्था परामर्श समितिमा प्रदेश सभा सदस्यहरुको नाम मनोनयन अनुमोदन गराउने कार्यसूची थियो ।

सभामुख मण्डलले प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४६ बमोजिमको विषयगत समिति गठनको लागि समितिमा रहने प्रदेश सभा सदस्यहरुको नामावलीसहित समिति गठनको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिए ।