काठमाडौं, २ फागुन । काठमाडौंको गोंगबुमा सोमबार भएको यातायात व्यवसायीको आन्दोलनका क्रममा मोबाइल पसलमा भएको लुटपाटमा संलग्न रहेकामध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ल्होत्से मलस्थित मोबाइल पसलमा चोरी गर्दागर्दै त्यहाँ कार्यरत सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । गार्डले बुझाएका ४ जनालाई प्रहरी वृत्त महाराजगञ्जले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको र बसपार्कभित्र मात्रै पार्किङ गर्नुपर्ने प्रावधान राखेको विरोधमा भएको आन्दोलनले उग्र रुप लिँदा तोडफोड र आगजनी भएको थियो । प्रहरी वृत्त बालाजुको दुईवटा गाडी पनि तोडफोड भएको थियो । घटनालाई लिएर बालाजुका डीएसपी रविन विष्ट उपत्यका प्रहरी कार्यालय रानीपोखरी तानिएका छन् ।

मोबाइल पसलमा भएको चोरीबारे अनुसन्धान गर्न गृह मन्त्रालयले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई निर्देशन दिएको छ । उनको निर्देशन अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयले छानबिन थालेको छ ।

कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार प्राप्त भिडियो फुटेजहरुको आधारमा चोरीमा संलग्नहरुको खोजी कार्य जारी छ ।