फागुन १० भित्र सत्ता गठबन्धन भत्किन्छ : गगन थापा

काठमाडौं, १ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले फागुन १० गतेभित्र वर्तमान सत्ता गठबन्धन भत्किने बताएका छन् ।
नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर–१ ले सोमबार तिलोत्तमा १५ कोटीहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो दाबी गरेका हुन् ।
उनले भने, ‘पुसको १० गते निर्माण भएको सत्ता गठबन्धन फागुनको १० गतेसम्ममा भत्काएरै छाड्छौं ।’
महामन्त्री थापाले निर्वाचन अगाडिको गठबन्धनले ५ वर्षसम्म सँगै सरकार सञ्चालन गर्ने र मुलुकमा स्थिरता, समुन्नति र समृद्धिका लागि काम गर्ने गरी जनताले निर्वाचित गराएकाले जनताको म्यान्डेटविपरीत बनेको सत्ता गठबन्धन भत्काउने जिकिर गरे ।
उनले निर्वाचन अगाडि जनतासँग जाँदा एउटा गठबन्धन र निर्वाचनपछि सरकार बन्दा अर्को गठबन्धन हुँदा जनतामा नैरास्यता छाएको उल्लेख गर्दै जनताको म्यान्डेट अनुसार सत्ता गठबन्धन बन्नुपर्ने बताए ।
चुनावभन्दा अगाडि गठबन्धन गरेर मत मागेर आएपछि तलमाथि गर्ने अधिकार कसैलाई नभए पनि व्यवहारमा उच्च राजनीतिक संस्कार र नैतिकता कायम राख्न नसक्नु नेतृत्वको कमजोरी रहेको महामन्त्री थापाको भनाइ छ ।
नेतृत्वले गरेको गल्तीका कारण चुनावी गठबन्धन भत्किएको भए पनि जनचाहना अनुसार कांग्रेस नेतृत्वको गठबन्धन बनाउने उनले दाबी गरे ।
फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसले उठाएको उम्मेदवार निर्वाचित गराउने भन्दै महामन्त्री थापाले एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति निर्वाचित भएमा सिंहदरबार र शीतल निवासबाट समानान्तर सत्ता चल्ने दाबी गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


