जनकपुरधाम, १ फागुन । त्रिभुवन विश्वविद्यालयको विभिन्न कलेजहरुमा आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि विद्यार्थी संगठनहरु छलफलमा जुटेका छन् ।

सोही क्रममा लोकतान्त्रिक विद्यार्थी संघले सोमबार जनकपुरधाममा निर्वाचन केन्द्रीत छलफल गरेको हो ।

स्ववियु निर्वाचनका लागि राजर्षि जनक विश्वविद्यालय तथा रा.रा.ब क्याम्पसका विद्यार्थीहरुसँग भेटघाट तथा विशेष छलफल गरिएको लोकतान्त्रिक विद्यार्थी संघका नगर अध्यक्ष अमित ठाकुरले जानकारी दिए ।

उनले स्ववियु निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टी नेपालको भातृ संगठन ‘लोकतान्त्रिक विद्यार्थी संघ’ लाई आवश्यक तयारी गर्न र विशेष रुपमा सक्रिय भई चुनाव जिताउनका लागि निर्देशन पाएबमोजिम आफूहरु छलफलमा जुटेको जानकारी दिए ।

लोकतान्त्रिक समाजवादी पार्टीको गाँउपालिका/नगर/महानगर/जिल्ला/प्रदेश समिति तथा पार्टीका सम्पूर्ण नेता/कार्यकताहरुलाई विद्यार्थी चुनाव सम्बन्धी योजना एवम् कार्यक्रम तय गरी लोकतान्त्रिक विद्यार्थी संघका साथिहरुसँग समन्वयको साथै आवश्यक पहल र सहयोगका लागि पार्टीले जारी गरेको परिपत्र अनुसार निर्वाचनमा केन्द्रीत भएको उनले बताए ।