जनकपुरधाम, २९ माघ । मधेस प्रदेश सरकारले सोमबार जनयुद्ध दिवस मनाउन लागेको छ ।

मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय मातहत रहेको मधेशी शहीद प्रतिष्ठानले जनयुद्ध दिवस मनाउन लागेको हो ।

प्रतिष्ठानले सोमबार मधेश भवनस्थित कवर्ड हलमा बिहान साढे १० बजे उपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा जनयुद्ध दिवस मनाउन लागेको गृह तथा सञ्चार मन्त्री शत्रुधन प्रसाद सिंहले जानकारी दिए ।

यसबिच, जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदासमेत दिएको छ ।

मधेस प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते प्रदेशभरि सार्वजनिक बिदा दिने निर्णय राजपत्रमै प्रकाशित गरिसकेको हो ।

यसअघिका मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा गृह तथा सञ्चार मन्त्री भएका भरत प्रसाद साहको प्रयासमा गत वर्ष नै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो ।

गत वर्ष फागुन १ गते पनि मधेस सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो भने माओवादीको दशवर्षे जनयुद्धमा सहिद, बेपत्ता भएका परिवार र घाइतेलाई एक/एकलाख रुपैयाँ वितरण गरिएको थियो ।