काठमाडौं, २९ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको बताएकी छन् ।

नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघ दाङद्वारा संयुक्तरूपमा आइतबार आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उनले २०२७ सालको कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको बताएकी हुन् ।

उनले समयसापेक्ष सूचना प्रविधि र संघीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको जानकारी दिइन् । उनले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताइन् ।

आगामी दिनमा पत्रकार र सञ्चार क्षेत्रको सवलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उनले बताइन् ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेका जस्ता समस्या समाधान गर्न आग्रह गरे ।

कार्यक्रममा पत्रकार महासंघ दाङ शाखाका पूर्वअध्यक्ष प्रताप रेग्मी, सल्लाहकार सुदीप गौतम, पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्मालगायतले आ–आफ्ना धारणा राखेका थिए ।