प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भयो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २८ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस २६ मा प्रतिनिधिसभाबाट प्राप्त मतले माओवादी आन्दोलनलाई न्याय भएको बताएका छन् ।
शनिबार नेपाल दलित मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘त्यो मत प्रधानमन्त्रीलाई प्राप्त मत मात्र होइन, परिवर्तनको नीति र नेतृत्वलाई प्राप्त मत हो । यसले उत्पीडित वर्त, जाति, क्षेत्र, लिंगप्रति पनि न्याय भएको मैले महसुस गरेको छु,’ प्रचण्डले भने, ‘संसदमा झण्डै शतप्रतिशत मत प्राप्त गर्नु सामान्य कुरा होइन । यसको ऐतिहासिक महत्व छ । भोलि कसरी जान्छ अहिल्यै भन्न सकिँदैन। तर, एउटा इतिहास त लेखियो। यसलाई कसैले मेट्न वा उल्टाउन सक्दैन ।’
यसले माओवादी नेतृत्वले मात्र देशलाई एकताबद्ध गर्नसक्छ भन्ने प्रमाणित गरेको भन्दै उनले राष्ट्रिय सहमति कायम गरेर सबै दलहरूलाई मिलाएर लैजान सक्ने माओवादी नेतृत्व मात्र भएको दाबी गरे ।
उत्पीडितहरू नजागी कसैले दयाले अधिकार नदिने बताउँदै प्रचण्डले आफ्नो अधिकार प्राप्तिका लागि उत्पीडितहरू नै अग्रसर हुनुपर्ने बताए ।
बैठकमा प्रधानमन्त्रीले सरकारको नीति, कार्यक्रम र बजेटमा दलितहरूका माग र मुद्दा सम्बोधन गर्न सरकारले उच्च प्राथमिकता दिनेसमेत बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


