जनकपुरधाम, २८ माघ । नेपाल चिकित्सक संघ जनकपुरधामले चिकित्सकमाथि भएको हातपात घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।

शुक्रबार राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत बरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरीबाट हुन गएको धरपकड र गम्भीर घाइते हुनेगरी भएको लाठीचार्जप्रति नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाले गम्भीर आपत्ति जनाएको हो ।

स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा पनि अस्पताल परिसरभित्र प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाइते बनाइनु अत्यन्तै दुःखद र असोभनीय कार्य भएको संघका अध्यक्ष डा. रामजी यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमार्फत घटनाको छानबिन गरि तत्कालै दोषी सुरक्षाकर्मीमाथि कानुनी कारबाही गर्न र पिडित चिकित्सकको उचित उपचार तथा क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाले माग गरेको छ ।

सो घटनामा उचित छानबिन गरि दोषी उपर कारबाही नभए हुने विरोधका कार्यक्रममा पूर्णरुपमा सहभागी हुन सम्पूर्ण चिकित्सकहरुमा नेपाल चिकित्सक संघ जनकपुरधाम शाखाले अपिल गरेको छ ।