जनकपुरधाम, २८ माघ । पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको नयाँ कार्यसमिति चयनका लागि भइरहेको निर्वाचनमा धाँधली गरिएको आरोप लगाइएको छ ।

एशोसिएसनका साधारण सदस्य किसुनदेव साहले निर्वाचन कानून बमोजिम नभई अनियमित तरिकाले भइरहेको आरोप लगाएका हुन् ।

उनले आफूले निर्वाचन प्रमुखलाई एक पत्र लेख्दै निर्वाचनलाई निष्पक्ष एवं भयरहित बनाउन माग समेत गरेको बताएका हुन् ।

साहले संस्थालाई नै कब्जा गर्ने गरी फर्जी मतदाताहरु खडा गरिएको आरोप लगाउँदै निर्वाचनलाई स्वच्छ बनाउन निर्वाचन प्रमुखलाई पत्र लेखेर आग्रह गरेका छन् ।

उनले निर्वाचनमा प्रतिनिधि नभई प्रोपराइटर वा मतदाता स्वयं उपस्थित हुनुपर्ने, फोटो सहितको मतदाता परिचयपत्र हुनुपर्ने, मतदान स्थलमा अध्यक्षको उम्मेदवार बाहेक कोही बस्न नपाउने, मतदानको समयमा मोबाइल वा विद्युतिय कुनैपनि सामग्री लग्न नपाउने गरी मतदानको व्यवस्थापन गर्न माग गरेका छन् ।

किसुनलाई पेट्रोलियम डिलर्स एशोसिएसन जनकपुरधामको द्वितिय उपाध्यक्ष ललित साहलेसमेत साथ दिएका छन् ।