जनकपुरधाम, २८ माघ । जनकपुरधामको रंगभूमी मैदानमा सम्पन्न ‘यु–१६ विद्यालय स्तरीय क्रिकेट च्याम्पियनसिप २०७९’को उपाधीमाथि गोगल प्रसाद उच्च माध्यमिक विद्यालयले कब्जा जमाएको छ ।

हरिज स्पोर्टस जोनको आयोजनामा भएको प्रतियोगिताको शनिबारको फाइनल खेलमा गोगलप्रसादले जनकपुर पब्लिक स्कुललाई ६ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।

१०७ रनको लक्ष्य पाएको गोगलप्रसादले ११ ओभरमा ४ विकेटको क्षतिमा १०७ रन बनाउँदै उपाधी जितेको छ । गोगलप्रसादको तर्फबाट विमलेश सहनीले १० बलमा अविजित २३ रनको पारी खेले भने सुरज साहले १६ बलमा २३ रन बनाए ।

यता, जनकपुर पब्लिक स्कुलको तर्फबाट इंग्लेस यादव र लक्ष्मी ठाकुरले समान २/२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ्ग गरेको जनकपुर पब्लिक स्कुलका इंग्लेस यादवले १९ बलमा १९ र विकास मण्डलले १६ बलमा १६ रन बनाएका थिए ।

बलिङ्ग तर्फ गोगलप्रसादका सुरज साहले १ ओभरमा ७ रन दिएर २ विकेट र सर्वजित चौधरीले ४ ओभरमा १६ रन दिएर २ विकेट लिए ।

कुल १२ वटा टिम सहभागी रहेको यस प्रतियोगितामा ११ वटा निजि विद्यालय र एउटा मात्र सरकारी विद्यालयले सहभागिता जनाएको थियो ।

गोगलका सुरज साहलाई म्यान अफ द म्याचको उपाधी दिइएको छ ।

यस्तै, प्रतियोगितामा उत्कृष्ट ब्याटिङ्ग गरेका मुकेश यादवलाई बेस्ट ब्याट्सम्यानको उपाधी दिइएको छ । उनले १३१ रन बनाएका हुन् ।

उता, ११ विकेट लिएका इंग्लेस यादवलाई वेस्ट वलर, सोहेल राइनलाई म्यान अफ द सिरिज, बेस्ट फिल्डर इंग्लेस यादव र इमर्जिङ्ग प्लेयरको उपाधी आदर्श झालाई दिइएको हरि स्पोर्ट जोनका प्रमुख हरिशंकर साहले जानकारी दिए ।

जनकपुरधाममा क्रिकेट रंगशाला बनाउन प्रयास गर्ने प्रतिबद्धता

प्रतियोगिताको समापनपश्चात् आयोजित पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले जनकपुरधाममा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउन आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय रंगशालाका निर्माणका लागि आवश्यक पहल सुरु हुनेसमेत बताए । उनले अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि प्रदेश र संघ सरकारलाई पनि आवश्यक सहयोग गर्न आग्रह गरेका छन् ।