अख्तियारले मनायो ३२औं स्थापना दिवस, विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा मोनाष्टिकका छात्र दिवेश प्रथम

जनकपुरधाम, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न कार्यक्रमको आयोजना गरी आफ्नो ३२औं स्थापना दिवस मनाएको छ ।
दिवसको अवसरमा आयोगको कार्यालय, बर्दिवासमा विभिन्न प्रतियोगिता तथा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
आयोगले प्रतियोगिताका विजयी सहभागी÷खेलाडीहरु तथा रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्ने व्यक्तिहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरणसमेत गरेको अख्तियारका उपसचिव कृष्ण प्रसाद हुमागाईले बताए ।
आयोगले माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा कार्यालयको कार्यक्षेत्रमा पर्ने ९ वटा जिल्लाका कक्षा ९ देखि १२ सम्ममा अध्ययनरत विद्यार्थीहरुलाई ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन’ शिर्षकमा २ हजार ५०० देखि ३ हजार शब्दमा निबन्ध लेख्न सार्वजनिक सूचना मार्फत आह्वान गरेको थियो ।

प्रतियोगितामा समावेश हुन ८२ वटा निबन्ध प्राप्त भएका थिए । निबन्ध प्रतियोगितमा प्रथम, द्वितिय र तृतीय हुने विद्यार्थीहरुलाई आयोगको स्थापना दिवसको अवसर पारेर क्रमशः नगद १२ हजार, ९ हजार र ७ हजार ५०० तथा प्रमाणपत्र उपलब्ध गराइएको छ ।
विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा मोनाष्टिकका छात्र प्रथम
माध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगितामा जनकपुरधामस्थित मोनाष्टिक हायर सेकेण्ड्री इङलिस बोर्डिङ्ग स्कुलको कक्षा ११ मा अध्ययनरत छात्र दिवेश कुमार महतोले प्रथम स्थान प्राप्त गरेका छन् ।
त्यस्तै, सिन्धुलीको कमलामाई नगरपालिका–६ स्थित सिद्धस्थली इङलिस बोर्डिङ्ग हाईस्कुलको कक्षा ९ मा अध्ययनरत छात्र दिवस कुमार थापाले द्वितीय स्थान प्राप्त गर्दा सर्लाहीको मलंगवा नगरपालिकास्थित मलगंवा ग्रीन लैण्ड अंग्रेजी आवासीय माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा मिताली कुमारी झाले तृतिय स्थान हासिल गरेकी छन् ।

उनीहरुलाई क्रमशः नगद १२ हजार, ९ हजार र ७ हजार ५०० तथा प्रमाणपत्र उपलब्ध गराइएको छ ।
यता, कार्यालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगिता अन्तर्गत चेस तर्फ प्रहरी निरिक्षक शुभेश अधिकारी प्रथम, लेखापाल शरद प्रसाद यादव द्वितिय र इन्जिनियर सुलभ सिग्देलले तृतीय स्थान प्राप्त गरेका छन् ।
ब्याडमिन्टन पुरुष डबल तर्फ प्रहरी निरिक्षक जीवन कुँवर र प्रहरी नायव निरिक्षक दिलिप कुमार सिंहले प्रथम स्थान हासिल गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


