रौतहट, २८ माघ । रौतहटमा गिट्टी बालुवा निकासीको करको विषयमा विवाद हुँदा चारजना घाइते भएका छन् ।

शनिबार जिल्लाको बृन्दावन नगरपालिकास्थित वागमती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिट्टी, बालुवाको करको विषयलाई लिएर दुई पक्षबीच झडप भएको हो ।

झडपमा दुई पक्षका चारजना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीयले नगरप्रमुख विनोद पटेलले मनोमानी गरेको भन्दै विरोधमा कर उठाउन बनाइएको घरसमेत भत्काई आगजनी गरिदिएका छन् ।

नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए ।