जनकपुरधाम, २७ माघ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आगामी फागुन २८ गते हुने राष्ट्रपति पदको निर्वाचनमा अहिलेदेखि नै नेकपा एमालेविरुद्व मोर्चाबन्दी भइरहेको आरोप लगाएका छन् ।

जनकपुरधाममा शुक्रबार नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियन मधेस प्रदेशले आयोजना गरेको सभालाई सम्बोधन गर्दै पूर्वअर्थमन्त्री समेत रहेका नेता पाण्डेले राष्ट्रपति निर्वाचनमा नेकपा एमालेका उम्मेदवारविरुद्व षडयन्त्र भइरहेको दाबी गरेका हुन् ।

उनले सभामुखमा नेकपा एमालेको जित भएजस्तै राष्ट्रपति निर्वाचनमा पनि एमालेकै जित हुने र यसविरुद्व मोर्चाबन्दी गर्ने काम भए त्यसलाई विफल पार्ने जिकिरसमेत गरे ।

अर्थतन्त्र बलियो नभए राष्ट्रियताको कुरा गर्नुको कुनै तुक नरहेको समेत पाण्डेले बताए । देशको सिमा र सिमास्तम्भलाई देखाएर राष्ट्रियतालाई दर्शाउनु गलत रहेको बताउँदै उनले अर्थतन्त्र बलियो भए मात्र राष्ट्रियता बलियो हुने बताए । अहिले अर्थतन्त्रको रक्षा नै मुल समस्या रहेको उनको तर्क छ ।

‘अहिले सिमाको नभई अर्थतन्त्रको रक्षा गर्न आवश्यक छ, ’उनले भने, ‘सिमामा गएर यो मेरो सिमा र स्तम्भ हो भन्दै रोएको कराएको कोहि देख्नु भा छ ?’