जनकपुरधाम, २७ माघ । धनुषाको सबैला नगरपालिकाले आगामी फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

वि.सं. २०५२ सालमा माओवादीको १० वर्षे जनयुद्ध सुरु भएको दिनको सम्झनामा सो नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरप्रमुख कारीराम यादवले जानकारी दिए ।

आजको संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था ल्याउन माओवादी जनयुद्धकै योगदान रहेको उल्लेख गर्दै यादवले इतिहासको सम्मान गर्न सार्वजनिक बिदा दिइएको बताए ।

नगरपालिकाले जारी गरेको सूचनामा भनिएको छ, ‘सबैला नगरपालिका नगरकार्यपालिका कार्यालयको माघ २७ गते शुक्रबारको निर्णय बमोजिम जनयुद्ध दिवसको अवसरमा फागुन १ गते सोमबारका दिन यस सबैला नगरपालिकाभर सार्वजनिक बिदा रहने सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’