बारा, २७ माघ । बाराको सिम्रौनगढमा मोटरसाइकल दुर्घटनामा परेर पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ । नेकपा एमालेका कार्यकर्तासमेत रहेका साविक देवापुरटेटा गाविसका अध्यक्ष महावीर साह कानुको मृत्यु भएको हो ।

साहले चलाएको मोटरसाइकल विपरित दिशाबाट आउदै गरेको अर्को मोटरसाइकसँग ठोक्किँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिम्रौनगढ बजारबाट ना १ प ६८८८ नम्बरको मोटरसाइकल चलाएर सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटास्थित घरतर्फ जाने क्रममा गण्डक नहर सडकको कोल्ड स्टोर अगाडि विपरीत दिशाबाट आउँदै गरेको ना १८ प ५१४१ नम्बरको मोटरसाइकलमा ठोक्किएको थियो । दुर्घटनापछि ७० वर्षीय साहको घटनास्थलमै मृत्यु भएको सिम्रौनगढ प्रहरीले जनाएको छ ।

घटनामा अर्का मोटरसाइकल चालक सिम्रौनगढ नगरपालिका–४ गंगानगरका २२ बर्षीय वाल्मीकी यादव समान्य घाइते भएको प्रहरीले जनाएको छ । उनको कलैया प्रादेशिक अस्पतालमा उपचार भइरहेकोे ईलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ ।

साह २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट देवापुरटेटा गाविसको अध्यक्षमा निर्वाचित भएका थिए ।