एजेन्सी, २५ माघ । टर्की र सिरियामा सोमबार गएको भूकम्पमा परी ८ हजार ७०० भन्दा बढीको मृत्यु भएको छ ।

यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । टर्कीको विपद् व्यवस्था एजेन्सीका अनुसार टर्कीमा कुल मृत्यु हुनेको संख्या ६ हजार २३४ पुगेको छ ।

सिरियाली स्वास्थ्य मन्त्रीले सिरियामा मृत्यु हुनेको संख्या पुष्टि गर्न गाह्रो भएको बताए । तर, स्थानीय सञ्चारमाध्यम र उद्धार समूहले २५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् । सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा १ हजार २५० जनाको मृत्यु भएको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र ह्वाइट हेल्मेटले मृत्यु हुनेको संख्या १ हजार २८० नाघेको बताएको छ । यस्तै, उद्धारकर्ताहरूले दक्षिणी टर्की र उत्तरी सिरियामा मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छन् । उनीहरूसँगै पीडित परिवार पनि उद्धारमा जुटेका छन् ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपत्काल घोषणा गरेका छन् । यो आपत्काल तीन महिनाको लागि हुनेछ ।