सिरहा, २५ माघ । सिरहामा ९ वर्षीय एक बालक मृत अवस्थामा फेला परेका छन् । जिल्लाको सिरहा नगरपालिका–१२ मा ९ वर्षीय बालक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

कक्षा ४ मा अध्ययनरत रुपेशकुमार महतो सारस्वरस्थित घरमा झुण्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

इन्स्पेक्टर रामचन्द्र साहका अनुसार उनी सारस्वर माविमा अध्ययनरत थिए । पाँच दिनदेखि स्कुल नगएका उनलाई बुवा जुगती महतोले गाली गरेर स्कुल छाडेर आएका थिए । तर, टिफिन टाइममा स्कुलबाट भागेर घर आएका बालक दलिनमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

ढोकामा आग्लो लगाएर दलिनमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको इन्स्पेक्टर साहले जानकारी दिए । बालकको शव पोष्टमार्टमपछि प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

आमाको मृत्यु भइसकेका उनी सौतेनी आमा र बुवासँग बस्दै आएका थिए ।